संघीय जनगणतन्त्र नै वर्तमान राज्यसत्ताको विकल्प: मोहन वैद्य (किरण)

-मधुकर थापा

उदयपुर,मंसिर २४ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य “किरण“ले वर्तमान राज्यसत्ताको विकल्प संघीय जनगणतन्त्र हो भन्नु भएको छ ।

 

बुधबार बिहान उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरणले यस्तो बताउनु भएको हो ।

 

उहांले सो अवसरमा संसदवादीहरुको गोलचक्करबाट मुक्त हुन सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने आवश्यता रहेकोमा पनि जोड दिनुभयो ।

 

सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको लागि पार्टी एकताका लागि आव्हान गरेको र त्यस दिशामा केही गृहकार्य समेत अगाडि बढेको पनि महासचिव किरणले जानकार दिनु भयो ।

 

सत्तारुढ नेकपाका दुई अध्यक्षको टक्करले अहिले सरकार र मुलुक दलदलमा फंसेको, भ्रस्टाचार मौलाएको र छिमेकीको नाममा भारतले भूमी मिच्दा फिर्ता गराउन सरकारले खासै कदम नचालेको , एमसिसी पास गराउन लागिपरेको र नेपाललाई रणभुमि बनाउन कस्सिएको समेत उहाँले बताउनु भयो ।

 

संसदवादीहरुको नालायकीपन र निकम्मापनले गर्दा नै अहिले राजावादीहरु सडकमा आएको चर्चा गर्दै यी सबै खाले प्रवृत्तिका विरुद्ध संघीय जनगणतन्त्रका लागि क्रान्तिकारी शक्तिहरुले आन्दोलनको आँधिबेहरी सृष्टि गर्ने दाबी गर्नुभयो ।

एक अर्को प्रशंगमा कोरोनाको उपचारबाट सरकार भागेको भन्दै सरकारले न्यूनतम मानवीय संवेदना पनि देखाउन नसकेको भन्दै सरकारको कडा आलोचना गर्नुभयो ।

 

पत्रकार सम्मेलनमा क्रान्तिकारी माओवादीका प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेल प्रतीक, पार्टी पीवीएम तथा १ नं। प्रदेशका इन्चार्ज मिनकुमार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

महासचिव किरण पार्टीको पूर्वी व्यूरोको बैठकको सिलसिलामा उदयपुर पुग्नु भएको थियो । पुर्वी व्यूरोको बैठक सोमबार र मंगलबार गाईघाटमा सम्पन्न भएको थियो ।

 

क्रान्तिकारी माओवादीका हालै सम्पन्न पोलिटब्यूरोको बैठकले जनगणतन्त्रका लागि जनसंघर्षमा सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ। मंसिर २५ गते सबै प्रदेश र जिल्लाहरुमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।