क्रान्तिकारी माओवादीले प्रहरीको अवरोध छिचोल्दै काठमाडौंमा -यालीसहित विरोध सभा र प्रदर्शन सम्पन्न (फोटोफिचर)

काठमाडौं,मंसिर २५। नेकपा (क्रान्तिकारी माओवादी)ले प्रहरी अवरोध छिचोल्दै काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा जुलुससहित विरोध प्रदर्शन र सभा भव्य र सान्दार रुपमा सम्पन्न गरेको छ ।

 

विरोध जुलुस र प्रदर्शनमा रोक लगाएको भन्दै प्रहरीले ठाउँ ठाउँमा अवरोध सिर्जना गर्न खोजेपनि प्रहरी अवरोध छिचोल्दै जुलुस र विरोध प्रदर्शन गरिएको छ ।

शान्तिबाटिकाबाट सुरु भएको विरोध -याली पुरानो बानेश्वर, भद्रकाली, वायुसेवा निमग, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर विरोधसभामा सम्पन्न भएको थियो । जुलुसमा रोक लगाउन खोजेपछि प्रहरीसँग ठाउँ ठाउँमा झडप समेत भएको थियो ।

विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टी पीवीएम तथा ३ नं. प्रदेश इन्चार्ज दिनेश शर्मा सागर,अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङ,अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना,अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत,क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटी,नेवाः राष्ट्रिय मुक्ति मोर्चाका सचिव श्रीकृष्ण सुलु, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेम तामाङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


सम्बोधनको क्रममा नेता सीपी गजुरेलले बन्दुकको आडमा टिकेको सत्ता बन्दुकले नै भत्काउने छौं भन्दै शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई अवरोध गरेर राज्यले फासिवादी चरित्र प्रदर्शन गरेको बताउनु भयो ।

 

उहाँले ओली सरकार सम्पूर्ण रुपमा असफल र बद्नाम भएको भन्दै यो सत्ता र व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र मात्र भएको बताउनु भयो। सम्पूर्ण देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अब संघीय जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेको चर्चा गर्दै त्यसका लागि सार्वजनिक आव्हान समेत गर्नुभयो ।

प्रायः वक्ताहरुले कार्यक्रममा प्रहरीले गरेको अवरोधको कडा विरोध एवम् भत्र्सना गर्दै शान्तिपूर्ण कार्यक्रमको रोक लगाउन खोजेर ओली सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको बताउनु भएको थियो ।

 

पार्टी पीवीएम तथा नेवाः मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेको विरोध सभाको सञ्चालन पार्टी पीवीएम तथा प्रदेश सचिव प्रवेशले गर्नुभएको थियो ।

कार्यक्रममा दलाल संसदीय व्यवस्था मूर्दावाद, संघीय जनगणतन्त्र जिन्दावाद, अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगायतका नाराहरु लगाइएका थिए ।