प्रधानमन्त्री ओली राजावादीसँग मिले : सभापति देउवा

काठमाडौं,मंसिर २९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आराेप लगाएका छन्।  

 

सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ को नारा लागेको भन्दै प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको त होइन ?  भन्ने प्रश्न गरेका  थिए ।

 

‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ? कसैलाई भ्रम नहोस्, राजा आउनेवाला छैन देउवाले भने ।

 

राजाले प्रजातन्त्र नसहेकै कारण कांग्रेस गणतन्त्रमा जानु परेको प्रष्टीकरण दिँदै सभापति देउवाले प्रजातन्त्रविरुद्ध नजाऔंभन्दा तत्कालिन राजाले आफूलाई थुनेको दाबी पनि गरेका थिए।

 

वर्तमान नेकपाको सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै देउवाले कम्युनिष्टले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेर आफूले भनेको मिल्न थालेको बताएका छन्।

 

ओली सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै देउवाले कोरोना जस्तो महामारीमासमेत सरकारले लाजमर्दो भ्रष्टाचार गरेको बताएका छन्। देशभर बलात्कारका घटना बढ्दा पनि सरकार संवेदनशील बन्न नसकेको भन्दै उहाँले निर्मला पन्त हत्या प्रकरणमा नेकपाकै मान्छे त संलग्न छैन भन्ने आशंका गरेकाे पनि बताएका छन्।