सार्वजनिक यातायातमा जोरबिजोर प्रणालीले यात्रु कोचाकोच,कोभिडको जोखिम बढ्दै

काठमाडौं,मंसिर २९। सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनमा जोरबिजोर प्र्रणाली नहटाउँदा सर्वसाधारण विहान–साँझको पिकआवरमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

 

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीको कारणले सीमित संख्यामा निजी तथा सार्वजनिक यातायात सञ्चालन हुँदा सर्वसाधारण ठेलमठेल÷कोचाकोच भएर सार्वजनिक सवारीसाधनमा यात्रा गर्न बाध्य भएका हुन।

 

सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीलाई व्यवस्थित गराउन नसक्दा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप अत्याधिक बढेर उल्टै कोभिड १९को संक्रमण बढ्ने जोखिम बढाएको छ।

 

  सरकारले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली घोषणा मात्रै गर्ने अनुगमन नगर्ने परिपाटीकै कारणले सार्वसाधारण जनताले अत्याधिक मात्रामा सास्ती पाएका छन्।

 

सरकारले सार्वजनिक यातायातमा यात्रुको पाएको दुखको ध्यानै दिएको छैन,जोरबिजोर प्रणालीको कारणले आधा मात्रै सार्वजनिक यातायात सञ्चालनमा आएका छन्।

 

जसको कारणले यात्रुको चाप अत्याधिक भएकाले जुनसुकै बेला पनि भीडभाड हुने अवस्था आएको छ,सरकारले तत्कालै जोरबिजोर प्रणाली हटाएर सर्वसाधारण जोगाउने तर्फ ध्यानदिने बेला भइसक्यो।

 

गृहमन्त्रालयले गत साउन २२ गतेदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणाली लागू गरेको थियो।

 

 अहिले जोरबिजोर प्रणालीको कारणले सीमित मात्रामा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदा यात्रुहरु कोचाकोच भएर यात्र गर्न बाध्य भएका छन्।  सरकारी निकाय जोरबिजोर प्रणाली खारेज गर्नुको सट्टा मुखदर्शक भएर मात्रै हेर्ने काम गरिरहेको छ।

 

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्र खुलिसक्यो। तर, सार्वजनिक तथा निजी सवारीसाधनमा मात्रै जोरबिजोर प्रणाली लागू गरेर अझै भीडभाड बढाउने मात्रै काम गरेको छ। संसारमै असफल भएको जोरबिजोर प्रणाली लागू गरेर गलत काम भइरहेको छ।

 

 जोरबिजोर प्रणाली हटाउने बित्तिकै सबै सवारीसाधनले खुकुलो गरेर चल्न पाउथे।तर,यहाँ जोरबिजोर प्रणाली लागू गरेर उल्टै कोभिड १९को जोखिम बढाइरहेको देखिन्छ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौंमा कोभिड १९ पूर्ण रुपमा नियन्त्रण नआएकाले सवारीसाधनमा लगाइदै आएको जोरबिजोर प्रणाली तत्कालै खोल्ने स्थितिमा नरहेको बताएका छन्।