विवाह नगरी बच्चा जन्माउने चलन हट्दै
लिमी (हुम्ला), पुस ३ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ ।
विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ ।
कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् । पछिल्लो समय युवामा शिक्षा र चेतनाकै कारण गाउँमा यो प्रथा निकै घट्न थालेको पाइएको छ । यो परम्परा लामो समयदेखि रहे पनि यता चार वर्षमा यस्तो प्रथाअनुरूप बच्चा नजन्मिएको स्थानीय बताउँछन् ।
लिमीका तीनै गाउँमा युवती बढी तर युवक कम भएकै कारण न्येलु प्रथा विगतमा मौलाउन पाएको भए पनि केही वर्षयता लिमीबाट छोरी काठमाडौंँ र भारतका विभिन्न स्थानमा अध्ययन गर्न जान थालेपछि यो प्रथा कम भएको स्थानीय फुर्बु तामाङले बताउनुभयो ।
लिमीका तीनै गाउँमा पहिलेबाटै न्येलु प्रथा मानेर बसेका महिलाको सङ्ख्या अहिले १६ छ । लिमीमा १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या छ ।
यो प्रथा अनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा बाबुले एकसरो व्यवस्था गरेर राख्नुपर्ने चलन छ । न्येलुु प्रथाका १६ जनालाई बाबुले व्यवस्था गरेको घरमा बस्दै आएका छन् तर बच्चाको बाबुले भने केही जिम्मेवारी नलिने चलन अनौठो नै छ ।
यो प्रथालाई स्वीकार गरेर बस्दै आउनुभएकी लिमी हल्जी गाउँकी पेमा आङ्मु तामाङले विगतमा यसबारे नबुझेर आफूले स्वीकार गरे पनि पछिल्लो पुस्ताका युवती यसमा नलागेको बताउनुभयो ।
दुईवटा बच्चाकी आमा तामाङले न्येलु प्रथा नै बहुपति प्रथाको कारण बनेको मत पनि राख्नुभयो । विगतमा यो प्रथा कायम रहे पनि लिमीमा हाल यो क्रम घट्दो क्रममा रहेको बताउनुभयो ।
आम सञ्चार माध्यममा न्येलु प्रथा राम्रो होइन भन्ने कुरा आउन थालेपछि लिमीवासीले पनि यसलाई विकृतिका रूपमा लिन थालेको स्थानीय बताउँछन् ।
लिमीबाट बाहिर अध्ययन गर्न जाने युवती यो प्रथाको विरोधमा छन् । बाहिर पढ्न गएका कोही यो प्रथामा सहमत नभएको स्थानीय लेण्डाप तामाङले बताउनुहुन्छ । उहाँले युवतीलाई दुःख पनि हुने र हेयका दृष्टिले समेत हेर्न थालिएपछि यो प्रथालाई अस्वीकार गर्ने गरिएको तामाङको भनाइ छ ।
चार÷पाँच वर्षयता लिमी गाउँमा एक जनाले पनि विवाहपूर्व बच्चा जन्माएका छैनन् । बाहिर पढ्न गएका युवती उतै विवाह गर्न थालेको र गाउँ फर्केर नआएपछि गाउँमा केटा मान्छे बढी हुन थालेका छन् ।
आगामी दिनमा त केटाले विवाह गर्न पो नपाउने हो कि भन्ने चिन्ता सुरु भएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङ बताउनुहुन्छ । सामाजिक मान्यता भएको तर कानुनी रूपमा यसमा केही गर्न नसकिए पनि युवतीले यसको बेफाइदा बुझ्न थालेपछि आफैँ हराउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गोरखापत्र दैनिकमा खबर छ।