नेकपा विभाजनको संघारमा : दुवै पक्षले बोलाए सांसदहरुको अलग-अलग बैठक

काठमाडौं,पुस ६ ।सत्तारूढ दल नेकपाकाे आज दुवै पक्षले आ आफ्नो पक्षका सांसदहरुलाई बैठकका लागि बोलाएका छन् । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा नेकपा पार्टी पनि विभाजनको संघारमा पुगेको प्रष्ट देखिन्छ।

 

यसको आधारका रुपमा नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएपछि अब नेकपा एकढिक्का नहुने अनुमान गरिएकाे छ। 

 

प्रधानमन्त्री केपी ओली पक्षधर सांसदहरुको बैठक विहान ९ बजेबाट बालुवाटारमा हुँदैछ । भने प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका छन् ।

 

विघटित प्रतिनिधिसभामा नेकपाको १७४ सिट थियो । सानु सिवाको निधन भएको र समानुपातिकबाट निर्वाचित त्यो ठाउँमा अर्को सदस्य निर्वाचित नहुँदै प्रतिनिधिसभा विघटन भएकाले १७३ सांसद थिए ।

 

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध संसदमा लगेको अविश्वास प्रस्तावमा ९० जना सांसदको हस्ताक्षर देखाइएको छ । यद्यपी उक्त हस्ताक्षर गत असारमै अर्को प्रयोजनमा गरिएको थियो । सांसदहरुको बैठकमा राष्ट्रियसभाका सदस्यहरु पनि सहभागी हुनेछन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ ।

 

प्रचण्ड माधव नेपाल पक्षले आजै स्थायी कमिटी बैठक पनि बस्ने जनाएको छ । ओली पक्षले भने पार्टीका अन्य बैठक बोलाएको छैन ।