विभाजनको मुखमा नेकपा :दाहालले सिन्को नभाँचेको ओलीको दाबी

काठमाडौं,पुस ७। एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ। प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कोलाई कारबाही गर्दै अनौपचारिक विभाजनको सुरुआत गर्दैछन्।

 

ओलीले मंगलबार बिहान नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन्। उनले त्यही बैठकबाट पार्टीलाई जानकारी नदिई प्रधानमन्त्री हटाउन खोजेको, पार्टी एकताविपरीत कार्य गरेको भन्दै दाहाललाई कारबाही गर्ने भएका छन्।

 

सोही बैठकले अन्य शीर्ष नेतालाई पनि कारबाही गरेर अघि बढ्ने तयारी ओली पक्षको छ। कारबाही ककसलाई गर्ने भन्नेबारेमा राति अबेरसम्म केही बताइएको छैन।

 

ओलीसहित ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरू राति अबेरसम्म व्यस्त रहे। उनीहरूले दाहाललाई कारबाही गरेर निर्वाचन आयोगमा जानकारी गराउने तयारी गरेको ओलीनिकट एक नेताले बताए।

 

दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको छ। मंगलबार बिहान बस्ने संसदीय दलको बैठकले ओलीलाई हटाएर दाहाललाई दलको नेता बनाएपछि त्यसको जानकारी गराउँदै दिउँसो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई कारबाही गरी हटाउने तयारी सो समूहको छ।

 

दुवै पक्षले पार्टी विधानलाई ‘कोट’ गरेर कारबाही गर्ने तयारी गरेका हुन्। आइतबारको स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाही गरिएको, त्यसैको अनुमोदनका लागि मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाइएको दाहाल पक्षले जनाएको छ।

 

केन्दीय कमिटी, स्थायी कमिटी सबैतिर आफ्नो समूहको बहुमत भएका कारण ओलीलाई हटाएर अर्को अध्यक्ष चयन गर्ने दाहाल–नेपाल पक्षले जनाएको छ।

 

नेकपाको विधानमा केन्द्रीय कमिटीलाई १९ वटा अधिकारको व्यबस्था छ। तीमध्ये अनुशासनसँग सम्बन्धित काम गर्ने दुईवटा व्यवस्था विधानमा गरिएको छ।

 

जसअनुसार विधानको भाग ‘ङ’ को दफा १० मा मातहत कमिटीबाट अनुशासनको कारबाहीमा परेका व्यक्ति तथा कमिटीको उजुरीमाथि आवश्यक छानबिन गरी निर्णय दिने तथा दफा ११ मा पार्टीको एकता, हित र सुरक्षामा खलल पार्ने मातहतका कुनै पनि कमिटीका निर्णयलाई बदर गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालना नगर्ने कमिटीलाई विघटन गर्ने र संगठित सदस्य तथा सदस्यलाई आवश्यक कारबाही गर्ने उल्लेख छ। सोही अनुसार ओली पक्षले दाहाललाई र दाहाल पक्षले ओलीलाई कारबाहीको तयारी गरेका हुन्।

 

‘दुवै समूहले विधानको यही दफाअनुसार एकले अर्कोलाई कारबाही गर्ने तयारी गरेका छन्’, नेकपा निकट एक कानुनविद्ले भने। विधानको दफा १८ मा केन्द्रीय कमिटीमा दुई अध्यक्षको व्यवस्था छ, त्यसमा अध्यक्षहरूको कार्यसम्पादनबारे उल्लेख छ।

 

दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने, पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था विधानमा छ।

दाहालले सिन्को नभाँचेको ओलीको दाबी

प्रधानमन्त्री ओलीले आफू पक्षधर सांसदलाई बालुवाटारमा बोलाएर कार्यकारीको हैसियतमा दाहालले कुनै पनि काम नगरेको दाबी गरेका थिए। उनले दाहालले सधैं घेराबन्दीमात्रै गरेको, सचिवालय बैठकमा पार्टीको कामभन्दा आफ्ना मान्छे सरकारमा राख्नुप¥यो मात्रै भनेको, सरकारलाई काम नै गर्न नदिएको आरोप ओलीले लगाएका थिए।

 

दाहालको भेलाले आफूलाई कारबाही गर्न नसक्ने, त्यसले वैधानिकता नपाउने उनले सुनाएका थिए। ‘हामी एकीकरणका काम टुंग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तव्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं।

 

तर उहाँहरू एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरूपयोग गरेर पछाडि फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बेमेलको वातावरण निर्माण गर्न अग्रसर हुनुभयो’, ओलीले भने, ‘संसद् विघटन मेरो निजी रोजाइ होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नुप¥यो।’

संसद् बैठक बोलाउन माग

दाहाल समूहले बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको सांसद भेलाले प्रतिनिधिसभा विघटनको घोषणा भए पनि सो मृत नभएको निष्कर्ष निकाल्दै संसद्को बैठक बोलाउन माग गरेको छ।

 

उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बताएका थिए। आज यहाँ ९३ जना भएका छौं, हामी यसका पक्षमा २ सय पु¥याएर सर्वोच्च अदालत जान्छौं र प्रतिनिधिसभा जीवित रहेको स्थापित गरेरै छाड्छौं’, दाहालले भनेका थिए।

नेपाल अध्यक्ष बन्दै

दाहाल पक्षले मंगलबारको केन्द्रीय कमिटी बैठकबाट प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्षमा चयन गर्ने नेपाल पक्षीय स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए।

 

दाहाल–नेपाल पक्षले मंगलबार बिहान संसदीय दलको बैठक, दिउँसो केन्द्रीय कमिटी बैठक बोलाएको छ। स्थायी कमिटीले गरेको निर्णय मान्य हुने नेपाल पक्षीय नेता जगन्नाथ खतिवडाले बताए ।

फुटको साक्षी बस्दिनँ : गौतम

पार्टीको उपाध्यक्ष रहेका वामदेव गौतमले आफू फूटको साक्षी नबस्ने भन्दै दुवै भेलामा सहभागी भएनन्। ‘अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक भेलामा भाग नलिने निर्णय मैले गरें। फेरि पनि पार्टी एकताको पक्षमा छु।

 

त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु’, उनले विज्ञप्तिमार्फत भनेका छन्। ‘मन्त्रिपरिषद्ले संसद् भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ। तर उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन।

 

त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ– उहाँले मन्त्रिपरिषद्को सिफारिसबमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिनु उपयुक्त हुन्छ,’ गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन्।

थापा समूहको छुट्टै भेला

दुवै पक्षको भेलामा अनुपस्थित गृहमन्त्री रामबहादुर थापाले आफ्नै निवासमा छुट्टै भेला गरेका थिए। भेलामा सहभागी अधिकांश नेताले थापालाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका थिए। थापाले निकट नेताहरूसँग छलफल गरिरहेको थाहा पाएपछि पुल्चोक पुगेका दाहाल थोरै कुराकानीपछि बाहिरिएका थिए।

 

भेलामा थापा निकटका नेता पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकाश सुवेदी, मायाप्रसाद शर्मा,युवराज भट्टराई,सुरेश आलेमगर, महेश्वर दाहाललगायत थिए।

नागरिक दैनिकमा खबर छ।