क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुर सचेतना एवं जागरण कार्यक्रम सम्पन्न

काठमाडौं,पौष ७ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको आयोजनामा मजदुर सचेतना एवं जागरण कार्यक्रम कुपन्डोल, ललितपुरमा सम्पन्न भएको छ ।

 

बैठकमा महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, विशेष अतिथि एवं पिबिएम क.सागर अतिथि एवं पिबिएम क. प्रवेश र महासंघका महासचिव बसन्त बोगटीले मजदुर आन्दोलन एवं समसामयिक राजनीतिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

जागरण कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि क.सागरले विद्यमान दलाल प्रतिक्रियावादी संसदीय व्यवस्थाले सबैभन्दा बढी शोषण मजदुर वर्ग माथि गरेको र मजदुर वर्ग नै आगामी नेपाली क्रान्तिको नेतृत्व गर्ने मुख्य राजनीतिक दस्ता भएको प्रष्ट पार्दै विद्यमान सत्ता, व्यवस्था र सरकारको षड्यन्त्र एवं भ्रम बाट मुक्त हुन सम्पुर्ण मजदुर, किसान र उत्पीडित जन समुदायमा अपिल गर्नुभयो । 

अबको संघर्ष भनेको यो व्यवस्थाको ध्वंस र खरानी र संघीय जनगणतन्त्र नेपाल स्थापनाको संघर्ष हो । अबको सरकार मजदुर किसान र उत्पीडित जनताको नेतृत्वमा बन्ने जनगणतान्त्रीक सरकार हो । हामी यहि संकल्पका साथ अघि बढौं ।

 

यसैगरी महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले अहिले नेपालमा पनि र विश्वव्यापी रुपमा नै मजदुर आन्दोलन नयाँ एवं क्रान्तिकारी शिरा बाट संगठित हुन थालेको र अब मजदुरहरुको राजनीतिक विजयलाई रोक्ने भौतिक तागत पुँजिवादसंग नभएको स्पष्ट पार्नु भयो ।

 

 

यसैगरी अतिथि क। प्रवेशले क्रान्तिकारी विचार सहितको राजनीतिक संगठन भित्र संगठित भएर गरिने विद्रोहले मात्रै हाम्रो वास्तविक मुक्ति सम्भव हुने स्पष्ट पार्दै सम्पुर्ण मजदुर मित्रहरुलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा संगठित हुन अपिल गर्नु भयो ।

महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सचिवालय सदस्य दिनेश बर्तौलाले गर्नु भएको थियो ।

 

 

कार्यक्रममा महासंघका सचिवालय सदस्य कुमार घतानेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सचिवालय सदस्य अर्जुनलाल श्रेष्ठ, केन्द्रीय सदस्य राजु सापकोटा र निशा राईको समेत आतिथ्य रहेको थियो ।