कृषिमन्त्रालयले ४ महिनामा गर्नैपर्ने १३ वटा महत्वपूर्ण काम कोरोना देखाउँदै आलटाल

काठमाडौं,पुस ८ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा गर्नुपर्ने महत्वपूर्ण कामलाई कोरोनाको बाहना बनाएर रोकेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनाका लागि गर्नैपर्ने १३ वटा काम छुट्याएको भए पनि कोरोनालाई देखाउँदै उक्त काम हुन नसकेको देखिएको छ ।

 

मन्त्रालयले समग्र देशको कृषि उत्पादनमा सुधार ल्याउने कार्यक्रम, चर्चामा आउने खालका कार्यक्रम राखेपनि कोरोना र कर्मचारीको बाहना देखाउँदै काम गर्न सकेको छैन ।

 

मन्त्रालयले चार महिनाको अवधिमा राष्ट्रिय फलफूल विकास कार्यक्रम अन्तर्गतका काम कर्मचारीको अभाव, कोरोना, जग्गा प्राप्तिका काम नसकिएको कारण काम हुन नसकेको देखाएको छ ।

 

 मन्त्रालयले शितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङमा दरबन्दी अनुसार पदपुर्ति नहुँदा तलब तथा स्थानीय भत्ता बापतको ठूलो रकम खर्च गर्न नसकेको तर्क गरेको छ ।

 

साथै फल प्रशोधनका लागि आवश्यक पर्ने सामग्री कोरोनाको कारण किन्न नसकेको जनाएको छ । यस्तै कफी विकास केन्द्रका लागि आँपचौर गुल्मीमा जग्गा खरिदको काम सकिएको भएपनि मुआब्जा समिति गठन भएको भए पनि कफी विकास केन्द्रका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बाँकी रहेको जनाएको छ ।

 

यस्तै राष्ट्रिय आलु तरकारी तथा मसला विकास कार्यक्रम पनि कोरोनाका कारण अघि बढाउन नसकेको तर्क गरेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण पिबिएस आलु बीउ सम्बन्धी तालिम, प्लाण्ट क्लिनिक, सर्भे, सर्भिलेन्स लगायतका तालिम चलाउन समेत नसकेको जनाएको छ ।

 

मन्त्रालयका अनुसार कोरोनाकै कारण मत्स्य विकास कार्यक्रम पनि कोरोनाले नै रोकेको छ । यसको लागि टेन्डरको कार सकेको र निर्माणको काम सुरु हुन कोरोनाले रोकेको हो । निर्माणको मात्रै नभएर तालिम लगायतका काममा पनि कोरोनालाई अवरोध देखाइएको छ ।

 

यस्तै प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन कार्यक्रमका लागि छुट्याईएको पैसा चाँही दरबन्दी अनुसार कर्मूचारी नहुँदा खर्च गर्न समस्या भएको छ ।

 

बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रमको लागि बीउ बिजन आपूर्ति तथा व्यवस्थापन निर्देशिका–२०७७ सरकारबाट स्वीकृत हुन बाँकी रहेकोले श्रोत बीउमा आउटपुट बेस इन्सेन्टिभ उपलब्ध गराउन नसकेको जनाएको छ ।

 

यस्तै कृषि विकास फार्म चन्द्रडाँगीमा इन्जीनियरको जनशक्ति अभाव हुँदा पुँजीगत निर्माण तथा सुधारका काम सञ्चालनमा आउन सकेको छैन।

 

यस्तै कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड २०७७ अनुसार तारकेश्वर नगरपालिकाको कार्ययोजना अघि बढाउन अझै समय लाग्ने जनाएको छ ।

 

मोरङ, चितवन, धनगढी र सुर्खेतमा भएका प्रयोगशालामा कोरोना परिक्षणको काम हुँदा पशु स्वास्थ्य रोग अन्वेषण सेवा तथा क्वारेन्टाइन कार्यक्रम प्रभावकारी बन्न नसकेको जनाएको छ ।

 

त्यस्तै लाइभस्टक सेक्टर इनोभेशन आयोजनाको काममा पनि कोरोना नै बाधन बनेको छ । यसको लागि आवश्यक तालिम गोष्ठी, कृषक पाठशाला जस्ता कार्यक्रम कोरोनाका कारण रोकिएको छ ।

 

केन्द्रीय कृषि प्रयोगशाला कार्यक्रम पनि कोरोनाकै कोरण रोकिएको मन्त्रालयको दाबी छ । कोरोनाले गर्दा तालिम, गोष्ठी, घुम्ती शिविर चलाउन समस्या भएको छ ।