जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी (साइनो) सम्बन्ध स्थापना

काठमाडौं,पुस ८ । जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी (साइनो) सम्बन्ध स्थापना गरिएकाे छ।

काठमाडौँ महानगरपालिका उपप्रमुखसहित महानगर प्रमुख विद्यासुन्दर शाक्य जुम्ला पुगेका छन् भने चन्दननाथ नगरपालिका नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी (साइनो) स्थापना गरेको नगर प्रमुख सेजुवालले जनाएकी छन्।  

 

दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण,प्रर्द्धन,विकास एवं प्रचार प्रसारमा सहकार्य गरिने काठमाडौँ महानगरपालिका प्रमुख शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो,“काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन् ।

 

मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक छ ।

 

प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप संचालनका लागि साझेदारी गर्न भगिनी (साइलो) स्थापना गरिएको प्रमुख शाक्यले बताउनुभयो ।

 

सो महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको प्रमुख शाक्यले बताउनुभयो ।

 

महानगरले यसअघि नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएको छ ।

 

भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदी विषयमा पनि सहकार्य गर्ने प्रमुख शाक्यले बताउनुभयो ।

 

चन्दनथान नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा नगरवासि खुसी रहेको बताउनुभयो ।

 

भगिनी सम्वन्ध स्थापना गर्दै कामठमाडौँ महानगरपालिकाले चन्दननाथ नगरपालिकालाई डेढ करोड रकम सहयोग गर्ने गरी समझदारी पत्रमा महानगर प्रमुख शाक्यले हस्ताक्षर गरेको चन्दननाथ नगरपालिकाले जनाएको छ ।