कांग्रेस बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच चर्काचर्की
काठमाडौँ,पुस ८। नेपाली कांग्रेसको जारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसद विघटनविरुद्ध प्रदर्शन गर्ने विषयमा चर्काचर्की नै परेको एक केन्द्रीय सदस्यले बताए ।
सभापति देउवाले नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने विषयमा फरक मत राखेका थिए । देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेलले आक्रोशित बनेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारदेखि बैठक सुरु भएको हो । दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जनाभन्दा बढीको नाम रहेको छ । बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि कांग्रेसले बुधबारबाट बैठक बोलाएको हो ।
प्रतिनिधिसभा संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै यसअघि नै कांग्रेसले विरोध प्रदर्शन गर्ने जनाएको थियो ।
कांग्रेसको आह्वानमा भएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध, कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा ‘प्रचण्ड–नेपाल’ समूहले एक भएर साझा रुपमा प्रतिकार गर्ने जनाएका थिए।