प्रचण्ड-नेपाल समूहद्वारा ओली कदमविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं,पुस ९। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

 

बिहीबार बबरमहलमा बसेको बैठकले ‘काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरूद्ध दैनिक आन्दोलन गर्ने’ लगायत विरोधका कार्यक्रम तय गरेको हो।

 

एकसाथ देशभर विरोध प्रदर्शन भने पुस १४ गते गर्ने बैठकले निर्णय गरेको छ। त्यसका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय ‘प्रतिगमनकाविरूद्ध सघर्ष समिति गठन’ गरेको छ।

यस्ता छन्, निर्णय 

–भोलि (शुक्रबार) बिहान साढे ९ बजे सबै केन्द्रीय सदस्य, सासंदलगायत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने 

 

–एक हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने

 

–१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने

 

–१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने

 

–१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्ध आन्दोलन

 

–२० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने

 

–२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने

 

–काठमाडौंलगायतका सहरहरूमा प्रतिगमनकाविरूद्ध दैनिक आन्दोलन गर्ने

 

–नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सदस्यीय प्रतिगमनविरूद्ध सघर्ष समिति गठन।