टेलिकमले एफटीटीएचमा भ्वाइस डेटा र भिडियो एकसाथ सुरु गर्दै
काठमाडौँ,पुस १४। नेपाल टेलिकमले अंग्रजी नयाँवर्ष २०२१ को सुरुवातसँगै फाइबर टु दी होम (एफटीटीएच) सेवामा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु गर्ने भएको छ ।
हालसम्म एफटीटीएचबाट भ्वाइस र डेटा मात्रै दिएको कम्पनीले अब भिडियो पनिदिई ग्राहक बढाउने नयाँ रणनीति लिएको हो । कम्पनीले अंग्रजी नयाँवर्षको सुरु अर्थात शुक्रबारदेखि आइपी टिभी राजधानी काठमाडौंबाट सुरु गर्न लागेको छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आइपी टिभी हाल परीक्षणमा रहेको भन्दै नयाँवर्षका दिन औपचारिक रुपमा सुरु गर्ने जानकारी दिए ।
उच्च गतिको इन्टरनेटको रुपमा चिनिएको एफटीटीएच ग्राहकलाई भ्वाइस भिडियो र डेटा सबै एकैसाथ दिन आइपी टिभी पनि ल्याउन लागिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरानाभाइरस र त्यसको प्रभाव न्यूनिकरण गर्न गरिएको लकडाउनपछि नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् ।
प्रबन्ध निर्देशक अधिकारीकाअनुसार एफटीटिएचका ग्राहक पनि एक लाखभन्दा धेरै भएका छन् । उनी भन्छन्, “पहिले हामी ग्राहकको घरघरमा बजारीकरण गर्न जान्थ्यौँ अहिले ग्राहक अफिससम्म आएर सेवा माग गरेका छन्, हामीले माग अनुसार एफटीटीएच सेवादिन सकेका छैनौँ ।
उनकाअनुसार ग्राहकको मागअनुसार सेवाविस्तार गर्न जनशक्ति व्यवस्थापनमा टेलिकमले ध्यानदिएको छ ।फाइबार टु दीहोम सेवामा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवादिँदै आएको कम्पनीले अब यसै लाइनमा टेलिभिजन हेर्न पाउने सुविधाथपगर्न लागेको हो ।
प्रतिस्पर्धी बजारमा सेवालाई विधिकरण गर्दै जानु टेलिकम कम्पनीहरुको आवश्यकता बन्दै गएको छ । ग्राहकमा थपिएको जानकारी, बढ्दा इन्टरनेट पहुँच र विश्वव्यापीकरणले अब एकै खालका सेवाबाट कम्पनीहरुले आम्दानी गरिरहन सक्ने अबस्था भने अहिले छैन । त्यसका लागि पनि कम्पनीहरुले डेटालाई मुख्य आधार बनाएर नयाँखालका सेवा र प्याकमा ध्यान दिन थालेका छन् ।
प्रबन्ध निर्देशक अधिकारीकाअनुसार आइपी टिभी सेवा काठमाडौँ उपत्यकाबाट सुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने योजना कम्पनीको छ ।
उनका अनुसार हालक्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । अघिल्लो महिनादेखि नेपालमा सुरु भएको क्लिन फिड नीतिले टेलिभिजनमा विदेशी विज्ञापन प्रसारणमा रोक लगाएको छ ।
कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । हालै मात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रतिदिन ३०० एमबी डेटा निःशुल्क उपलब्ध गराउने प्याकेज ल्याएको छ ।