दाहाल नेपाललाई दुई अंकको सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं,पुस १९ । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा नाच्ने पुतली सरकार बन्नबाट रोक्न आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

 

प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त दुई तिहाइलाई फुटाएर विभिन्न तत्वसँग भित्री साँठगाँठ र जोडजाम गर्दै पुतली सरकार बनाउने प्रयास भएको भए पनि आफूले त्यसलाई असफल पारिदिएको बताए ।

 

नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले थालेको राष्ट्रिय स्वाभिमानविरुद्धको आन्दोलन र विकास तथा समृद्धिको योजनालाई अवरुद्ध पार्ने प्रयास गरिएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे ।

 

‘प्रचण्ड र माधजी टालाटुली बटुलेर पुतली सरकार बनाउन उद्यत हुनुभयो । खराब व्यक्तिको हातमा राज्यसत्ता जान नदिन प्रतिनिधिसभा विघटन गर्नुपरेको हो,’ प्रधानमन्त्री ओलीले भने ।

 

प्रधानमन्त्री ओलीले प्रतिगमनलाई रोक्न संसद् विघटन गरेर स्टेरिङ सिधा बनाएको बताए । पुतली सरकार बनाउन खोज्नेहरूले प्रतिगमन ल्याउन लागेको भन्दै आफूले त्यसलाई रोकेको ओलीको दाबी छ ।

– पुतली सरकार बनाउनेबाट प्रतिगमनको खतरा

–संविधानको धारा ७६ को उपधारा ७ प्रयोग गरिएको दाबी

–आफ्नै सम्पत्ति पनि मेरो हो भनेर निवेदन दिनुपर्छ र 

–भेट्नु कुहिएर झरेको फलको संज्ञा

ओलीले दुई तिहाइको सरकार ढाल्ने, पार्टीको एकता भताभुंग पार्ने र हर्स ट्रेडिङको खेल सुरु गरी सधंै अस्थिरता निम्ताउने प्रयासमा प्रचण्ड–माधव पक्ष लागेको आरोप लगाए ।

 

देशमा जनताको इच्छाअनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएकाले संसद् विघटन गरिएको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेशनदेखि नै सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरेको र तीन वर्षदेखिका विधेयक विभिन्न बहानामा समितिमा अड्काएर सरकारलाई पूर्ण रूपमा असफल बनाउने कार्य गरेको आरोप लगाए ।

 

प्रधानमन्त्री ओलीले भने, ‘६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन नसकिने भयो, ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधिसभा पुनस्र्थापना हुनै सक्दैन ।’ ओलीले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम बहुमत प्राप्त सरकार प्रमुखलाई संसद् विघटन गर्ने अधिकार रहेको बताए ।

 

प्रधानमन्त्रीले विघटित प्रतिनिधिसभाले कामै गर्न नदिएपछि दुई वर्षसम्म कुरेर देशलाई बर्बाद पार्न नहुने निष्कर्षमा आफू पुगेको बताए ।

ओलीले पार्टीको आधिकारिकताबारे आफूहरू कतै जानै नपर्ने बताए । ‘पार्टी हाम्रै हो र सूर्य चिह्न पनि हाम्रै हो, आफ्नो जग्गा सम्पत्ति पनि मेरो हो भनेर कहीँकतै निवेदन दिन जानुपर्छ र रु’ प्रधानमन्त्रीले प्रश्न गर्दै भने ।

 

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवलाई संकेत गर्दै ‘खिया लागेका दुईवटा नटबोल्ट’ फुक्लिनासाथ पार्टी उच्च गतिका साथ अघि बढेको बताए । ओलीले दाहाल–नेपाल समूहलाई आगामी निर्वाचनमा दोहोरो अंकमा सिट जितेर देखाउन चुनौती दिए ।

 

ओलीले दाहाल–नेपाल पक्षले आफूहरूसँग सधैं बहुमत भएको बताएको तर कोसँग बहुमत छ भनेर आगामी १७ र २७ वैशाखको निर्वाचनमा थाहा हुने जनाए ।राजधानी दैनिकमा खबर छ।