सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन

काठमाडौँ,पुस १९। सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो ।बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दिए ।

 

तीन साता बितिसक्दा पनि त्यसमा सुनुवाइको पालो आएको छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनसमेत त्यसै गरी सर्वोच्च अदालतमा अड्किएको छ । अरू त टाढाको कुरा, निवेदनमाथि प्रारम्भिक सुनुवाइसमेत भएको छैन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत १० गते मन्त्रिपरिषद् विस्तार गरे । त्यसको पर्सिपल्ट सर्वोच्च अदालतमा कामचलाउ सरकारले केही पनि गर्न नपाउने भनी रिट दर्ता भयो । दुईपटक पेसी तारिखमा तोकिएर पनि निवेदनको सुनुवाइ भएन ।

 

उक्त निवेदन आइतबार पनि पेसीका लागि चढ्दै छ । त्यस्तै प्रकृतिको अर्को निवेदन वरिष्ठ अधिवक्ता त्रिपाठीले पनि दर्ता गरेका थिए, त्यसको पनि अवस्था उस्तै छ ।

 

यी घटनाक्रमले सरकारले गरेका गम्भीर कामकारबाहीविरुद्धका निवेदनमाथि सर्वोच्च अदालत प्रशासनले ‘वास्तै नगर्ने’ शैली अपनाएको देखिन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नै संलग्न भएर गरिएका निर्णयमाथि प्रश्न जोडिएका निवेदनप्रति पनि त्यसरी नै सर्वोच्च उदासीन छ ।

 

एक त निवेदनहरू पालो नै नपर्ने गरी पछिल्लो क्रममा पर्ने गरेका छन्, अर्कोतर्फ पालो आउने अवस्थामा न्यायाधीशहरूले ‘हेर्न नभ्याउने’ जनाएर इजलास टुंगिन्छ । करिब आधा दर्जन निवेदनमाथि यस्तै शैली छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।