आजदेखि संसद् विघटनविरुद्धको मुद्धामा सुनुवाइ हुँदै
काठमाडौं,पुस २२। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ। यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी सर्वोच्च अदालतले आदेश गरेको थियो।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट निवेदन परेका छन्। पुस १० मा सर्वोच्च अदालतले सरकारसँग संसद् विघटन गर्नुको कारण सोध्दै पाँचजना एमिकस क्युरी (अदालतको सहयोगी) मगाउने, राष्ट्रपतिलाई पठाएको सक्कल सिफारिस, निर्णय, संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सक्कलै फाइल मगाउने आदेश गरेको थियो।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा आइतबार लिखित जवाफ पेस गरिसकेका छन्।
लिखित जवाफमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु राजनीतिक बाध्यता भएकाले न्यायिक पुनरावलोकनको विषय हुन नसक्ने भन्दै मुद्दा खारेजीको माग गरेका छन्।
सभामुख सापकोटाले संविधानमा विकल्प हुँदाहुँदै संसद् विघटन हुन नसक्ने भन्दै पुनस्र्थापनाको माग लिखित जवाफमार्फत गरेका छन्।
बुधबार संवैधानिक इजलास गठन हुनेछ । इजलासको गठन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गर्नेछन्। सो विषयलाई धेरैले चासोका रूपमा हेरेका छन्।
त्यस्तै इजलासले एमिकस क्युरी गठन गर्ने निर्णय अनुसार नेपाल बार एसोसियसनबाट ३ जना वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिसकेको छ ।
त्यस्तौ सर्वोच्च बारले बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो ।
तर बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेकाले उनको ठाउमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ।