भारतले हुम्लामा विद्यालय निर्माणका लागि ४ करोड १४ लाख सहयोग

काठमाडौं,पुस २२। हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारतले ४.४१३ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।

 

भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

 

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यो परियोजनाका लागि भारत सरकारले ४.४१३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

 

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आबद्घ रहेको छ ।

 

साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ ।

 

परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् ।