आज प्रधानमन्त्री ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी जाँदै

काठमाडौँ,पुस २४। प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आज धनगढी जाने उल्लेख गरेका छन्।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।

 

नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिए । जनसभाका लागि विभिन्न समिति गठन गरिएको उनले जानकारी दिए । प्रतिनिधि सभा विघटनपछि पहिलो पटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर जान लागेका हुन ।

 

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको छ । जसको असर पार्टीभित्र परेको छ र दुई भिन्न समूह क्रियाशील छन्।संसद विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ-आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् ।

 

‘दाहाल-नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।