राष्ट्रिय परिचयपत्र लिनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं,पुस २५। पन्ध्र स्थानीय तहमध्ये झापाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

 

छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण शुरु गरेको बताए ।

 

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए ।

 

उनकाअनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

 

‘कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो’, सहायक प्रजिअ पाण्डेले भने, ‘पालिकाका वडामा दैनिक छदेखि आठ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।

 

छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उनले जानकारी दिए । झापापछि टोली मोरङ जाने उनको भनाइ छ ।