अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने प्रचण्डजीहरू पनि भाग लिनुहुन्छ : देउवा

काठमाडौं,पुस २५। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले जुलुस निकालेर अदालतलाई दबाब दिन नहुने बताएका छन्।

 

संसद् विघटनको विरोधमा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले संसद् विघटन संविधानविरोधी कदम भएपनि अदालतमा विचाराधिन मुुद्दा भएकाले जुलुस निकालेर ‘यो गर, उ गर’ भन्न नहुने बताएका हुन्।

 

उनले अदालतबाट हुने निर्णयलाई कांग्रेसले स्वीकार गर्ने बताए। ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ,’ देउवाले भने।

 

अदालतले चुनावमा जाने सरकारको कदमलाई सदर गरेको खण्डमा कांग्रेस चुनावमा जाने उनको भनाई छ। सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ? अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि चुनावमा भाग लिनुहुन्छ।

 

धेरैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँदैनन् भन्ने लागेपनि धनगढी पुगेर ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने चुनाव हुने बताए। तर, ओलीले चुनाव नगराए उनलाई सडकबाट फाल्ने देउवाको भनाई छ।

 

तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने,त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ । ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गरे ।