प्रतिनिधिसभा मार्न पाइदैन,निरंकुश सरकार चाहिँदैन भन्दै डा. गोविन्द केसी सडकमा

काठमाडौं,पुस २५ । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीसमेत सडकमा आएका छन्।

 

संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ’श्री ७’ महाराजको जस्तो भएको केसीले बताएका छन्।

 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताएका छन् ।

 

प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना हुनुपर्ने केसीको भनाइ रहेकाे थियो । यदि त्यसो नभए जनता सडकमा आउनुपर्ने डा. केसीले बताएका थिए।

 

जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको उहाँको भनाई थियो ।प्रदर्शनमा डा.केसी ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड बोक्दै केसी सडकमा निस्किएका हुन।