परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोनाविरुद्धको खोप मुख्य एजेन्डा
काठमाडौं,पुस २८ । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ ।
नेपाल र भारतको छैटौं संयुक्त आयोगको बैठकमा यसअघि विगतमा सम्झौता भएका विकास परियोजना, ऊर्जा, रेललगायतका विषयमा छलफल हुने कार्यसूची तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
१ माघमा हुने भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस.जयशंकरसहितको अधिकारीसँग छैटौं संयुक्त आयोगको बैठक हुनेछ ।
पहिलो दिनको बैठकमा नेपालका तर्फबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमाको विषय परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा उठाउनेछन्। ती भूभागलाई समेटेर नेपालले नक्सा जारी गरे पनि अझै पनि सो क्षेत्र भारतको अधीनमै छ ।
संयुक्त आयोग बैठकसँग आपसी सम्बन्धका सबै पक्षमा छलफल गर्दै सम्बन्धित निकायलाई निर्देशन गर्ने अधिकारसमेत छ । यसकारण नेपालले हाल देखिएको सीमा विवादको समस्यालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिबारे यसपटक पनि छलफल हुनेछ
साथै नेपाललाई चाहिने कोभिड–१९ भ्याक्सिनको विषयमा पनि छलफल हुनेछ । भारतले कोभिड–१९ भ्याक्सिन दिने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । दोस्रो दिन परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
डिसेम्बरमै संयुक्त आयोगको बैठक बस्ने भनिए पनि राजनीतिक घटनाक्रमका कारण पछि धकेलिएको हो । सुरुमा संयुक्त आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन ।
परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणपछि नेपाल र भारतका तर्फबाट उच्चस्तरीय भ्रमणको मिति तय हुने सम्भावना रहेको छ । सीमा विवादका कारण नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि पछिल्लो समय भारत अग्रसर रहँदै आएको छ ।
भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको नेपालको दुई दिने औपचारिक भ्रमणसँगै सम्बन्ध सुधारमा भारतले चासो दिएको हो ।राजधानी दैनिकमा खबर छ।