पेट्रोलियम व्यवसायीको मनोमानी:कमिसन कम भएको भन्दै आफूखुसी मूल्य बढाउने तयारी

काठमाडौं,पुस २९। पेट्रोलियम व्यवसायीहरूले नेपाल आयल निगमसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आगामी माघ महिनादेखि प्रतिलिटर ५० पैसा थप गरी बिक्री गर्ने घोषणा गरेका छन् ।

 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गर्दै साविकको खुद्रा मूल्यमा माघ १ गतेदेखि ५० पैसा थप गरी बिक्री गर्ने घोषणा गरेको छ ।

एशोसियसनका महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निगम र सम्बन्धित निकायका व्यवसायीहरूबीच कमिसन वृद्धि सम्बन्धमा पटक-पटक भएका सहमति र निर्णयहरू कार्यान्वयन नभएपछि साविक मूल्यमा थप गरी बिक्री गर्न आफ्ना सदस्यहरूलाई जानकारी गराइसकिएको उल्लेख छ ।

 

समस्या समाधानका लागि निगम अझै सकारात्मक हुन नसकेको र उल्टै व्यवसायीहरूलाई कारबाही गर्ने खालका अभिव्यक्ति आएको उल्लेख गर्दै यस विषयमा एशोसियसनले थप छलफलका लागि ७ माघमा केन्द्रीय समितिको वृहत बैठक बोलाएको पनि उल्लेख गरेको छ ।

न्यून कमिशनले पेट्रोलियम व्यसाय सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीले इन्धन कारोबारमा दिँदै आएको कमिसन बढाउन माग गर्दै आएका छन् ।

 

एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले तीन वर्षदेखि कमिसन वृद्धिको माग गर्दै आए पनि नेपाल आयल निगमले कुनै सुनुवाई नगरेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको बताए । हालको खर्चले व्यवसाय सञ्चालन गर्न नसकिएकाले पेट्रोलमा ४.५ प्रतिशत र डिजेलमा चार प्रतिशत कमिसन हुनुपर्ने उनको भनाइ छ ।

 

अहिले निगमले व्यवसायीलाई डिजेलमा २.६५ प्रतिशत र पेट्रोललमा ३.३९ प्रतिशत कमिसन दिँदै आएको छ । विभिन्न विज्ञ संलग्न अध्ययनले कमिसन वृद्धि गर्नुपर्ने देखाए पनि निगमले कमिसन वृद्धि नगर्दा व्यवसायीलाई प्रत्यक्ष मार परेको व्यवसायीको भनाइ छ ।

हालको लागत, खर्च, व्यवसाय सञ्चालन खर्च, मजदुरको सेवा सुविधामा भएको वृद्धि, मुद्रास्फीति दर, पूर्वाधार स्तरोन्नति, राजस्वका दरमा भएको वृद्धि, पेट्रोल पम्पको बिक्री अनुपातले अहिलेको आम्दानीबाट पम्प सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको जनाएका छन् ।

 

कमिसन बढाउन पटकपटक माग गरे पनि निगमले कुनै सुनुवाई नगर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको भनाइ छ । मुलुकभर हाल १ हजार ५६१ पेट्रोल पम्प छन् ।कारोबार दैनिकमा खबर छ।