नेपालमा थप १ सय ५ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २३। नेपालमा थप १ सय ५ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८८ हजार ३ सय ७२ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २३ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा २ सय ७२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को झापामा १, तेह्रथुममा १, मोरङमा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को रौतहटमा १ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ५, धादिङमा १, भक्तपुरमा ३ र ललितपुरमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९, नवलपरासी पूर्वमा १, र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा ७, पाल्पामा ३, प्युठानमा १, बर्दियामा २ र रुपन्देहीमा ४ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा १ र कञ्चनपुरमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा मात्र १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।