भागरथी हत्या :निर्मला प्रकरणजस्तो नहोस् ,नागरिकबाट दबाब बढ्दै

काठमाडौं,माघ २५। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ ।

 

बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो ।

 

चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टको भनाइ छ ।

 

उनले भने,विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।

 

मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् ।

 

काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती भट्ट निकै पीडामा रहेका छन ।श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको हो ।

 

भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरिरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए ।

 

मृतकको किशोरी भागरथीको शव परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए ।

 

मृतक किशोरीको शव भने नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । उनले भने, “अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।

 

किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ ।

 

घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए ।

 

ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए ।

उनले भने,किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।

 

घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

 

यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

 

टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक ९डिएसपी०लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

 

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ ।