आज यी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,माघ २५। हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

हाल देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने महाशाखाको भनाइ छ ।

 

आइतवार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

 

राती देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।