ओलीसँग सयभन्दा बढी सांसद भएको दाबी,पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्छौं :प्रमुख सचेतक भट्टराई
काठमाडौं,फागुन १५ । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनले बताए।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरू रहेको जिकिर गरे ।
उनले भने,प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु उहाँ बहुमतमा हुनुहुन्छ ।
आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन् ।
उनले जनताले नेकपालाई झन्डै दुईतिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको बताए ।
उनले भने,प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो, यसको आभाष पाउनेबित्तिकै उहाँसँग दुईवटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद् विघटन गर्ने,बाहेक उहाँसँग अर्को विकल्प थिएन । उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो ।
संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनले सुनाए । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए ।
प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनले चेतावनी समेत दिएका छन् ।