नेकपाका महासचिव ‘विप्लव’ र गृहमन्त्री थापाबीच भेटवार्ता,कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताबारे छलफल

काठमाडौं,फागुन २२। सरकारसँग तीनबुँदे सहमति गरेको भोलिपल्ट नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गृहमन्त्री रामबहादुर थापा (बादल) सँग उनकै निवासमा पुगेर भेटेका छन् । शनिबार बिहान गृहमन्त्री निवास पुल्चोकमा करिब एक घण्टा छलफल भएको हो।

 

छलफलमा कार्यकर्ता रिहा,मुद्दा फिर्ता लगायतका विषयमा कुराकानी भएको गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

 

समसामयिक विषयमा छलफल भएको हो,उनले नेपाल प्रेससँग भने,कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायत अन्य कानूनी कुरा कसरी सल्टाउने भन्ने विषयमा कुराकानी भयो। सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

 

उक्त सहमतिमा विप्लवले शान्तिपूर्ण राजनीतिको बाटो अँगाल्ने र सकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकवा गरेर गिरफ्तार भएका कार्यकर्ता रिहा गरिदिने लगायतका विषय छन्।