सपनालाई अश्लील फोटो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

काठमाडौं,फागुन २६ ।  सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन् ।

 

 काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा उनलाई बुधबार रिहा गर्ने आदेश दिएको थियो । बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएकाे प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

 

सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

 

केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए ।  

 

सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइए पनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएको थियो ।

 

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे । सपना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरार आएको थियो ।