सुर्खेतका थप आठ स्थानमा टेलिकमको एफटीटीएच सेवा विस्तार

काठमाडौं,फागुन २८ । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच)सेवा विस्तारलाई तीव्रता दिएको छ ।

 

उपभोक्ताको माग बढ्दै गएपछि टेलिकमको सुर्खेत शाखाले एफटीटीएच सेवा जिल्लाका आठ स्थानमा थप विस्तार गर्न लागेको हो ।

 

एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्तामाझ यसको माग बढ्दै गएको हो ।

 

सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्यान्डलाइन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्यान्डलाइन जडानतर्फ आकर्षित गरेको छ ।

 

टेलिकम सुर्खेतका अनुसार एयरपोर्ट, तातोपानी, बांगेसीमल क्षेत्रमा थप सेवा विस्तार गर्न लागिएको छ । बुलबुले, अस्पताल रोड, इत्राम, खजुरा क्षेत्रमा सर्वे नहुँदा सेवा विस्तार गर्न नसकिएको टेलिकमको भनाइ छ ।

 

यद्यपि जुन क्षेत्रबाट सेवाग्राहीको माग जति धेरै आउँछ, त्यही अनुपातमा माग भएका क्षेत्रमा सेवा विस्तार गर्ने टेलिकमको योजना छ ।

 

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा हालसम्म एफटीटीएच सेवा लिने सेवाग्राहीको संख्या दुई हजार दुई सय रहेको टेलिकम सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

 

तर, टेलिकमले एफटीटीएच विस्तारमा प्राविधिक कारण देखाउँदै मागअनुरूपको सेवा विस्तार गर्न नसकेको उपभोक्ता बताउँछन् ।

 

सदरमुकाम वीरेन्द्रनगरकै उपभोक्ताको मागलाई सम्बोधन गर्न नसक्दा गुनासो बढिरहेको टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर नारायणप्रसाद कुसीले बताए ।

 

मूलतः एफटीटीएच विस्तारपूर्व केन्द्रीय कार्यालयबाटै जनघनत्व, ट्राफिक साइट, कभरेजलगायतको सर्वेक्षण हुने गरेकाले उपभोक्ताको मागअनुरूपको सेवा तत्काल सम्बोधन गर्न ढिलाइ भइरहेको उनको भनाइ छ ।

 

उपभोक्ताको मागअनुरूप सेवा पाउन नसकेको गुनासो बढ्दै गएपछि कार्यालयले एफटीटीएच सेवा विस्तारलाई तीव्रता दिए पनि पर्याप्त हुन सकेको छैन ।

 

अहिले पनि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही स्थानमा मात्र टेलिकमले आफ्नो एफटीटीएच सेवा विस्तार गर्न सकेको छ ।

 

गत वर्ष सुर्खेतभरि ल्यान्डलाइन ग्राहकको संख्या ५ हजार ६ सय रहेकामा चालू आर्थिक वर्षको माघ मसान्तसम्म एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै ल्यान्डलाइन ग्राहकको संख्या ७ हजार पुगेको हो ।

 

टेलिकमले एफटीटीएच सेवा सुर्खेत जिल्लाभरि विस्तार गरिने योजना रहेको बताएको छ । थप विस्तारको काम भइरहेकाले चालू आर्थिक वर्षभित्र कुनै बाधा–अड्चन नआए ६ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको कार्यालय प्रमुख इन्जिनियर कुसीले जानकारी दिए ।

 

सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताका लागि विभिन्न सुविधासमेत दिँदै आएको उनले बताए ।

 

टेलिकमको वेबसाइज तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध रहेकाले ग्राहकको माग नआएसम्म तत्काल क्षेत्र विस्तारमा समस्या रहेको उनको भनाइ छ ।

 

‘कर्णाली प्रदेशको दैलेख जिल्लाभरि एफटीटीएच सेवा विस्तार भइसकेको छ,’ उनले भने, ‘छिट्टै सल्यानको श्रीनगर र सल्लीबजार, सुर्खेतका छिन्चु, जहरे, मेहेलकुनालगयात क्षेत्रमा एफटीटीएच सेवा पुर्‍याउँदै छौं ।’

 

टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार गर्ने अभियान जारी रहेको प्रमुख कुसीले जानकारी दिए ।

 

उनका अनुसार एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्‍याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीवी र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका प्रभावकारी छ ।

 

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गर्न सक्छन् । यसअघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकताअनुसार आईएसडीलगायतका विभिन्न सेवासमेत थप गर्न सकिनेछ ।

 

हाल प्रयोगमा रहेको ल्यान्डलाइन ९पीएसटीएन० टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महसुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ ।आर्थिक अभियानबाट,