विदेशबाट आयत हुने पिउने पानीमा पूर्ण प्रतिबन्ध लगाउन सिफारिस

काठमाडौँ,चैत २। नेपालमा पिउने पानीको आयातमा पूर्ण प्रतिबन्ध लगाउन संसदीय उपसमितिले सरकारलाई सिफारिस गरेको छ ।

 

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा विदेशबाट हुने पिउने पानीको आयातमा पूर्ण रोक लगाउन निर्देशन दिन सिफारिस गरेको हो ।

 

उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी दिए ।

 

स्वदेशमै उच्च गुणस्तरको पानी उत्पादन हुने र आयात हुने गुणस्तरको पानी नेपालमै उत्पादनको वातावरण बनाउन यस्तो प्रतिबन्ध आवश्यक देखिएको अध्ययन उपसमितिका संयोजक प्रकाश रसाईली (स्नेही) को भनाइ छ ।

 

नेपालमा विदेशबाट बोतलको पानी आयत हुने गरेको अध्ययनमा क्रममा भेटिएको उनले बताए । नेपालमै हिमनदी, प्राकृतिक स्रोत, खनिज स्रोत लगायतबाट उत्पादन हुने पानी उपलब्ध रहेकाले पिउने पानी आयात गर्नु बाञ्छनीय नभएको समितिको प्रतिवेदनमा भनिएको छ ।

 

नेपालका पानी उत्पादकहरुलाई विदेशमा पिउने पानी निर्यात गर्न सहजीकरण गर्न पनि उपसमितिले सरकारलाई भनेको छ ।

 

विदेशमा पानी निर्यात गर्दा उत्पादन, भण्डारण र आपूर्ति प्रक्रियाको आईएसओ सर्टिफिकेट लिएर मात्रै गर्नुपर्ने पनि उपसमितिले भनेको छ ।