खनाल–नेपाल समूहले संसदीय दल र केन्द्रीय कमिटी बैठक बहिस्कार गर्ने
काठमाडौैं,चैत ६। नेकपा एमाले खनाल–नेपाल समूहको शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी र संसदीय दल बैठकमा नजाने जनाएको छ ।
शुक्रबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दल र केन्द्रीय कमिटी बहिस्कार गर्ने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।
बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखिएको हुनाले त्यसमा सहभागी नहुने निर्णय गरिएको छ।
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्न सकिने खनाल–नेपाल समूहले जनाएकाे छ।स्वसमूहले बिहीबारको संसदीय दल बैठक पनि अस्वीकार गरेको थियो।
त्यस्तै, खनाल–नेपाल समूहले ओलीले गरेको फागुन २८ गतेको निर्णय शून्यमा पुर्याउनुपर्ने माग राख्दै आएको छ । २८ गतेको बैठक विधिविपरीत भएकाले बैठकमा सहभागी नहुने निर्णय गरेको छ।