कांग्रेसको नेतृत्वमा दुई हप्ताभित्र सरकार बन्छ: शशांक कोइराला

काठमाडौं,चैत ६। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

 

पत्रकारसँगको भेटमा आज उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए।

 

उनले भने, ‘माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’ अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ थियो ।

 

माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनको भनाइ थियो । उनले भने, ‘अहिले माओवादी केन्द्र सरकामा छ ।

 

उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।

 

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। रासस