देशमा ठूलो राजनीतिक संकट,क्रान्तिमा बदल्ने जिम्मेवारी क्रान्तिकारीहरुको:सीपी गजुरेल

काठमाडौं,चैत ८ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले देशमा आएको असाधारण राजनीतिक संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी क्रान्तिकारीहरुको काँधमा आएको बताउनु भएको छ ।

 

क्रान्तिका लागि वस्तुगत स्थिति असाध्यै अनुकूल बनेको र क्रान्तिकारीहरुको आत्मगत अवस्थालाई सुदृढ तुल्याउन पार्टी एकतालाई लक्षित गर्दै चार पार्टीको रणनीतिक संयुक्त मोर्चा बनाइएको पनि अध्यक्ष गजुरेलले बताउनु भयो ।

 

मुलुकमा उत्पन्न राजनीतिक संकटको अन्तर्यमा एमसीसी र लिम्पियाधुरासहितको नक्सा मुख्य कारणको रुपमा रहेको दाबी गर्नुभयो ।

 

पार्टीको स्थायी समितिको निर्णय अनुसार चैत्र २४ गत्तेको जनआन्दोलन दिवसलाई राजनीतिक रुपमा धक्का दिने गरि भव्य रुपमा मनाउन आवश्यक पुर्व तयारीका लागि बसेको पार्टीको ३ नं. प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताउनु भएको हो ।

 

उहाँले अब छिट्टै बसेर रणनीतिक संयुक्त मोर्चाको दोस्रो चरणको कार्यक्रम घोषणाा गरिने पनि बताउनु भयो ।
देशका सातवटै प्रदेशमा भव्य जनसभासहित जनआन्दोलन दिवस मनाउन लागेको क्रान्तिकारी माओवादीले काठमाडौंमा कन्द्रीय जनसभा गर्न लागेको हो ।

 

३ नं.प्रदेशको जनशक्तिलाई केन्द्रित गरि जनसभालाई भव्य रुपमा सम्पन्न गर्न उपत्यकाका तीन जिल्लामा अभियान नै चलाउने निर्णय गरेको छ । अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाका इन्चार्ज र सेक्रेटेरीलाई कमिसार र कमान्डर तोकेको छ । अन्य जिल्लामा जनपरिचरालनका योजना बनाइएको पार्टी प्रदेश सेक्रेटरी प्रवेशले जानकारी दिनुभयो ।