गृहमन्त्री बादलसहित एमालेलाई साथ दिने यी सांसदहरुको पद खारेज हुँदै (सूचीसहित)

काठमाडौं,चैत ९। नेकपा माओवादी केन्द्र ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित केही नेताहरुको सांसद पद खारेज गर्न लागेको छ ।

 

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी पूर्ववत एमाले र माओवादी जीवित गराइदिएपछि एमालेलाई साथ दिने गृहमन्त्री बादलसहित केही नेताहरुको सांसद पद माओवादी केन्द्रले खारेज गर्न लागेको हो ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कायमै रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र नेकपा विघटन भएपछि पनि राजीनामा नदिइ सरकारमा निरन्तरता दिएका मन्त्रीहरुलाई माओवादी राजीनामा दिएर पार्टीमा फर्किन पत्र पठाए पनि कुनै जवाफ नआएकाले कारबाही गर्न लागिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माओवादी केन्द्र पृष्ठभूमिका मणि थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साहलाई मन्त्रीमा नियुक्त गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।

 

 

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला तथा २३ गतेको नेकपा खारेज र एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको फैसलापछि पनि उनीहरुले ओलीको मन्त्रिपरिषदमा निरन्तरता दिइरहेका छन् ।

 

 

माओवादी केन्द्रले अब उनीहरु आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरुको सांसद पद खारेज गर्ने निर्णय गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यस्ताे छ सूची 

१ -रामबहादुर थापा

२-मणि थापा

३-टोपबहादुर रायमाझी

४ -गौरीशंकर चौधरी

५ प्रभु साहलगायतका संसदहरूलाइ कारबाही गरिने प्रवक्ता श्रेष्ठले जनाएका छन्।