कोरोनाको जोखिम बढ्न सक्ने भन्दै क्वारेन्टाइन र आइसोलेसन तयारी राख्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ,चैत ११ । नेपालमा कोभिड-१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए ।
उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।
बुढाले भने, ‘क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौँ । भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।