नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुनरवलोकनका लागि प्रचण्ड सर्वोच्च जाँदै

काठमाडौं,चैत १७।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पुनरवलोकनका लागि सर्वोच्च अदालत जाने भएका छन्।

 

प्रचण्डले आज ११ बजे सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिने भएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो।

 

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता समेत दिएको थियो ।

 

सबैभन्दा पहिला आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी हालेका थिए।

 

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो। सो फैसलाविरुद्ध प्रचण्ड आज सर्वोच्च अदाल जान लागेका हुन्।