नेपालमा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा मात्र २०१ जना संक्रमण
काठमाडौं,चैत ३१। नेपालमा थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन्। यसअघि सोमबार ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए।
पछिल्लो २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये २ सय १ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।