नयाँ वर्षले गाउँ घर सँगै विशुसंक्रन्तीको याद दिलायो
परिस्थितिले भनम या बाध्यताले मेरो जिन्दगीका अनगिन्ति पाइलाहरु मोडिदै गर्दा एउटा भगवानरूपी आमा बुवाको काख र बालापन देखिको टेकेको पाइलाहरू टेक्दै आएको गाउँ घर छोडेर टाडिन पर्दा यो मन छिया छिया हुन्छ, धड्किरहेको मुटु पनि केही सेकेन्डको लागि विश्राम लिन पुग्छ। साच्चिकै मन भतभत हुन्छ।
एउटा सानो बस्ती , त्यही बस्तीको बसाई ,हँसाई, खेलाई अनि केही आर्जन गरेका ती प्रतिभाको कति याद आउँछ,अनि कोल्टे फेर्दै गरेकी म फेरि सोच्न विवस हुन्छु।
जिन्दगीका हर उकाली ओराली अनि भञ्ज्याङ चौतारी हरुमा आई पर्ने बाधा अड्काउ फुकाउन कै लागि भए पनि यो सुन्दर संसार देखाउने आमा बुवा सँगै त्यो प्यारो गाउँ अनि सुस्त, मस्त र व्यस्त जीवनशैलीकाे बयान गर्नै सक्दिन।
त्यो रमणीय गाउँ, संस्कृतिले भरिएको ठाउँ, भिन्नै भेषभुषाको दौरानमा कहलिएको जेराको याद दिलायो नयाँ वर्षले। विशुमा घर नगएको पनि ८ बर्ष पुगेको पत्तै भएन। हरेक नयाँ वर्षको १ गते पर्ने विशुसंक्रन्तिले मेरो गाउँको छुट्टै भेषभुषा झल्किएको पाइन्छ।
यसै सालको दशैं तिहारमा घरमा उज्यालो छाउन भनी घर पुगे। गाउँ घरमा १ महिनाको बसाई अति अविस्मरणीय क्षण बन्न पुगेको पत्तो नै भएन। माथिको लेख, लेखमा भएको त्यो हराभरा जंगल, तलको बेसी ( औल), गाउँ छेउमै हुम्ला कर्णाली र मुगु कर्णाली मिसिएर बनेको कर्णाली नदी, कार्तिक महिनामा किसान हरुको कामको चटारो सँगै पिपल चौतारीमा आराम लिन भनी बसेका ठूला बड़ा तथा बुढापाकाको जमात अनि पुराना पुराना जमनाको कुराकानी गर्दै आएका चौतारीका बुढापाका हरुको याद अायो, त्यति मात्र कहाँ हो र? कसैको गोरु ले सरु खाँदा गरिएका गाली गलैँचाले त झनै बालापनको याद दिलाई दियो।
कर्णाली नदीमा गरिएको राफ्टिङ त यति धेरै मजा आएको थियो। त्यो गाउँ छोडेर अन्त जानै मन लागेको थिएन तै पनि आफ्नो कर्मथलो तिर पाइला चाल्न सरिक हुनु पर्दो रहेछ।
तिहारको अवसरमा गरिएको रमाइलो, खाएको भोज अनि भोज खाइसकेपछि साना साना भाइहरू सँग खेलिएको दोहोरी अनि महिला दिदी बहिनी तथा आमा हरु सँग घनकाइएको देउडा अहिले पनि कानमा गुञ्जि रहेको छ। गाउँमा जति नै रमाइलो गरे पनि घर छोडेर बाहिर जानु को पीडा अशय हुँदो रहेछ।
भोलि बिहान उठेर हिड्नु पर्नेछ आज चाडै सुत छोरी भनेको आमाको आवाजले मैले आँखा बाट आँशु थाम्न सकिन।
बिहान उठेर घरबाट निस्कन लाग्दा ८८ वर्षे हजुर बुवाले आश तेरै छ नातिनी, आस तेरै छ राम्रो गर्नु भन्दै घुँक्क आवाज निकाली आँखा भरी आँसु निकालेको एक हातले पुछ्दै ढोका भित्र पसेको देख्दा यो मन छिया छिया भएर आयो।
गन्तब्य स्थल सम्म आइपुग्दा पनि एक हप्ता सम्म गाँउ घरको झझल्को बाहेक अरु केही आएन।
पढाइको सिलसिलामा ८ वर्ष बित्दा ३ वर्ष त केवल बनेपाको रमणीय वातावरणमा बितेको पत्तै भएन। कहिले काठमाडौं कहिले बनेपा गरेका ती दिन अनि घरमा फोन गर्दा पनि फोन नलागेका क्षण हरु सम्झिँदा कति नरमाइलो लाग्थ्यो।
सँगैका साथीहरु भने बिदाको दिनमा घर जान्थे म होस्टेलमा बिताउँथे कतिपय दिनहरू। जब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जागिरको शिलशिलामा आए त्यसपछिका दिनहरु म घर नजिकै छु जस्तो त महसुस हुन्थ्यो तर आमाबुवा सँग भए जस्तो कहाँ हुँदो रहेछ र।
खुसी लागेको छ विकास ढिलै भएपनि विकास त भएछ मेरो गाउँमा, बनेपा हुँदा फोन गर्नै गारो हुन्थ्यो अहिले घरमै भिडियो कल गर्न पाइने भएको छ। नजिक बाट सम्भव नभएपनि टाढा बाटै एकअर्काको चेहरा देख्न पाइएको छ धन्य छ विज्ञान प्रविधि।
आउँदै गरेको २०७८ को नयाँ वर्षमा पनि घर जान पाउँदिन म साथीभाईहरु भन्दैछन् तिमी अहिले पनि नयाँ वर्षमा घर आउँदिनौ? सम्झिरहेकी छु मलाई माया गरेर सम्झिन चाहानुहुने घरपरिवार, सम्पूर्ण आफन्तजन इष्टमित्र अनि साथीभाई र बहिनीहरूमा साथै २०७८ सालको पावन अवसरमा हजुरहरू सम्पूर्णमा सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।