भारतमा भयावह बन्दै कोरोना संक्रमण,मृत्यु हुनेको संख्या बढ्यो ह्वात्तै

सांकेतिक तस्वीर

नयाँ दिल्ली,बैशाख ६। कोरोनाको दोस्रो लहर दिनहुँ भयावह भइरहेको छिमेकी देश भारतमा पछिल्लो पटक विश्वमै सबैभन्दा बढी संक्रमित थपिंदा मृतक संख्या पनि सबैभन्दा बढी रह्यो ।

 

त्यहाँ लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा माथि रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ७५ हजार भन्दा बढी संक्रमित थपिए ।

 

यसअघि हिजो मात्रै त्यहाँ करिब २ लाख ६१ हजार जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना महामारी शुरु भएयता भारतमा एकैदिन संक्रमित हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यससँगै भारतमा संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार नाघेको छ ।

 

त्यस्तै सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार भन्दा बढी हुँदा संक्रमणमुक्त हुने १ करोड २९ लाख नाघेका छन् । त्यस्तै त्यहाँ संक्रमणबाट अहिलेसम्म १ लाख ७८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

 

पछिल्लो समय भारतपछि अमेरिकामा ४३ हजार तथा ब्राजिलमा ४२ हजार भन्दा बढी संक्रमित भए । सो अवधिमा विश्वभर झण्डै ७ लाख कोरोनाका संक्रमित थपिए । विश्वभर संक्रमित हुनेको संख्या भने केही घटेको हो ।

 

त्यस्तै सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी भारतमै १६ सय भन्दा बढी तथा ब्राजिलमा १५ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये झण्डै ८ हजार ९ सय जनाको मृत्यु भयो ।