स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित
कर्णाली,बैशाख ६ । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् ।
रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ।रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका छन्।
जुम्ला तातोपानी गाउँपालिका–८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमा करिब ४० प्रतिशतमा विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको सोही विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिनुभयो ।
“यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ,उहाँले भन्नुभयो, शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँचजना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ ।
उक्त कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताउनुभयो ।
धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,प्रमुख सापकोटाले भन्नुभयो, “जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ ।
उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको उहाँले बताउनुभयो।
विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताउनुभयो ।
सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको बताउनुभयो । यो समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको थियो ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो,यसमा हेलचेक्र्याइँ गर्नुहुन्न । हरेकले संवेदनशीलता भने अपनाउन जरुरी छ ।मौसम बदलिएसँगै जुम्लाको भेरीखोला, सिञ्जा र चौधबीस क्षेत्रमा ज्वरोका बिरामी बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।रासस,