फ्लोर क्रस गर्ने चार जना सांसदमाथि संस्थापन पक्षको कारबाही

काठमाडौं,बैशाख १०। नेकपा एमालेको संस्थापन पक्षले कर्णाली प्रदेशसभामा संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद नरहने गरी कारबाही गरेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।

 

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा चार जना एमाले सांसदले संसदीय दलको निर्णयविरुद्ध मत हालेका थिए ।

 

पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टिकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

 

बैठकले माधवकुमार नेपालसहितका २७ जना सांसदले दिएको स्पष्टिकरण अध्ययन गरेर कारवाही गर्ने नगर्ने निर्णयको जिम्मा स्थायी समितिलाई दिएको छ ।स्पष्टिकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिइएको छ ।