कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो: कोरोना हुन नदिन के गर्ने,यस्ता छन्,पाँच उपाय

काठमाडौं,बैशाख ११ । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।

 

यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।

 

त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् ।

 

देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन ।

 

– नियमनकारी निकाय नै मापदण्ड उल्लंघन

– केही दिनयता २ हजार बढी संक्रमित थपिँदै

– जनस्वास्थ्य मापदण्ड अस्पतालमै उल्लंघन

मुख्यतः सार्वजनिक यातायातमा सवार गर्दा भौतिक दूरी कायम हुन सकेको भने मास्क र घरबाहिर निस्किँदासमेत सेनिटाइजर उचित प्रयोग हुन सकेको छैन ।

 

सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन फितलो देखिएको छ । विभिन्न मेला, जात्रासमेत जारी छन् । विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालनाबिनै भइरहेका छन् ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना जोखिम अत्यधिक बढेको भन्दै २५ जनाभन्दा बढी भेला नहुन आम नागरिकलाई आग्रह गरेका छन् । ‘भौतिक दूरी कायम नहुने, मास्क समुचित प्रयोग नहुने र सरसफाइमा ध्यान दिइएन भने जोखिम दर बढ्दै जान्छ,’ उनले भने ।

 

देशभरका स्थानीय प्रशासनले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरे पनि सो विषय लागू हुन सकेको छैन । सरकारले समेत मापदण्ड उल्लंघन गर्नेलाई कारबाही दायरामा ल्याउन सकेको छैन । संक्रमण जोखिम बढे पनि केही नागरिकमा डरत्रास मान्न छाडेका छन् ।

 

चिउँडोमा मास्क लगाएर हिँड्ने गरेको समेत पाइएको छ । घरबाहिर निस्किँदा साबुनपानी नभएको बेला हातले केही छोए सेनिटाइजर उचित प्रयोग गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । अझै सरकारको निर्देशनविपरीत केही विद्यालयले विद्यार्थीलाई भौतिक दूरीसहित पठनपाठन गराइरहेका छन् ।

कोरोना हुन नदिन के गर्ने  ?

– भौतिक दूरी (कम्तीमा दुई मिटर)

– मास्क समूचित प्रयोग

– हातले मुख, नाक र शरीरका अन्य अंग नछुने

– साबुनपानी नभएको बेला सेनिटाइजर प्रयोग

– सकभर बाहिर ननिस्कने

बिरामी आवतजावत हुने स्थान मानिएको अस्पतालमा समेत भौतिक दूरी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । बजारमा सामान खरिद क्रममा जनस्वास्थ्य मापदण्ड कार्यान्वयन हुन सकेको छैन ।

 

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले कोरोना संक्रमणबाट बच्न हेलचेक्र्याइँ गर्न नहुनेमा जोड दिन्छन् । ‘सबैभन्दा महत्वपूर्ण आत्मानुशासन हो, भिडभाड हुने ठाउँमा कोरोना फैलिने सम्भावना रहन्छ,’ पुनले भने, ‘कोरोना रोकथामका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

 

यसैबीच, औषधि व्यवस्था विभागले कोरोना उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयात अनुमति दिएको छ । बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो ।राजधानी दैनिकमा खबर छ।