कोरोना कहरमा इन्टरनेट सेवा,बढे ग्राहक, फस्टायो व्यापार

काठमाडौं,बैशाख ११। भनिन्छ, महामारी र विपत्तिले सधैं नराम्रो परिणाम मात्रै निम्त्याउँदैनन्, नयाँ सम्भावना पनि ल्याउँछन् र अवसरका ढोका उघार्छन्।

 

एक वर्षयता संसारभर देखिएको कोभिड–१९ को महामारीले धेरै क्षेत्रलाई ठप्प बनाए पनि केही क्षेत्रका लागि यही महामारी अवसर बनेको छ। कोभिडले ल्याएका अवसरका उदाहरण धेरै छन्।

 

यसअघि ‘वर्क फ्रम होम’ भन्ने विषय सायद अंग्रेजी शब्दमै सीमित थियो। कुनै पनि व्यक्तिलाई महिनौं दिन कार्यालयमा नगए काम गर्न सकिन्छ भन्ने आत्मविश्वास थिएन।

 

तर तीनचार महिना घरमै बसेर पनि कार्यालयको काम गर्न सकिन्छ भन्ने आत्मविश्वास यही महामारीले गराएको छ। विश्वमै अहिले ‘वर्क फ्रम होम’ संस्कारको विकास महामारीकै उपज बनेको छ।

 

पछिल्लो समय सूचना प्रविधिमा आएका नयाँनयाँ प्रविधिका कारण ‘वर्क फ्रम होम’ सम्भव भएको हो। अहिले जस्तोसुकै सामान्य कामका लागि कार्यालय पुग्नुपर्ने बाध्यता टरेको छ।

 

कार्यालयको काम घरबाटै गर्न सकिने मात्रै होइन, प्रविधिको विकासले विद्यालय तथा कलेजका अध्ययन–अध्यापन पनि अनलाइनबाटै सञ्चालन गर्न सम्भव बनेको छ। सहरमा रहेका अधिकांश विद्यालयले पहिलोपटक अनलाइन कक्षाको सुरुवात गरे।

 

कोभिडका कारण स्कुल कलेज बन्द भएपछि सुरु भएका अनलाइन कक्षाका कारण इन्टरनेटको खपत अत्यधिक मात्रामा हुन पायो।

 

विगतमा घरमा इन्टरनेट जडान गरे छोराछोरी बिग्रन्छन् भन्ने मानसिकता बोकेका कतिपय आमाबाबु कोभिडको समयमा पठनपाठन सुचारु गर्न प्रविधिसँग जोडिन बाध्य भए।

 

यही कारण गत वर्ष इन्टरनेट, ल्यापटप, मोबाइलजस्ता प्रविधिका उपकरणहरूको व्यापार उकालो लाग्यो। प्रविधिको व्यापार उकास्न महामारी सहायक बन्न पुग्यो।

 

स्कुल र कलेज मात्र होइन, घरबाटै जुम मिटिङ, गुगल मिट, टिम्सलगायत भिडियो कन्फ्रेरेन्समा संलग्न हुनुपर्ने बाध्यताले पनि इन्टरनेटको खपत ह्वातै बढायो।

 

घरबाटै अफिसको काम गर्दा इन्टरनेटसँग जोडिएकाहरूले क्षमता बढाउन बाध्य भए। त्यति मात्रै होइन, लकडाउनकै कारणले घरमा बस्नेहरूले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटरजस्ता प्रविधिको प्रयोग गरेपछि इन्टरनेटको ब्यान्डविथ खपत पनि ह्वातै बढ्यो।नारिक दैनिकम खबर छ।