४१ जिल्लामा पूर्ण,१५ जिल्लामा आंशिक,निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुग्यो,

काठमाडौं,बैशाख २३ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्ने क्रम जारी छ।वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ। त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ।

 

अहिलेसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्यांकमा दोलखामा जिल्ला भर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको छ ।

 

त्यस्तै आदेश जारी भएका अन्य जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिम रहेका छन् । त्यसमध्ये तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ।

 

नवलपरासी पश्चिम, म्याग्दी, मुगु र तनहुँमा गएराति १२ बजेदेखि लागू भएको छ। बारा र सिरहामा आज बिहान ६ बजेदेखि लागू भएको छ। सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ।

 

अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञा लागू गरिएको छ।

 

यस्तै प्यूठान, काभ्रे, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र बैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ ।

 

त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञा छ।