ओलीलाई दिएको समयसीमा सकिँदै माधव–झलनाथ समूहले अब के गर्लान्?

काठमाडौं,बैशाख २७ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा आज सकिँदै छ ।

 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका थिए ।समयभित्र जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी रहेकाे थियाे।

 

ओली पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन माधव–झलनाथ पक्ष बनाएको छ ।  ओलीले यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको माधव–झलनाथ पक्षकाे दाबी रहेकाे छ।   

 

नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि दुवै पक्षका नेताहरुबीच छलफल तीव्र हुँदै आएको छ । यद्यपि समस्या समाधानको बाटो पहिल्याउन दुवै पक्षले सकेका छैनन् । त्यसैले ओलीले आजको संसद बैठकमा विश्वासको मत पाउने सम्भावना कम देखिएको छ।