निषेधाज्ञाको बेला नेपाल आउन चाहनेहरुको लागि,यी १३ नाकाबाट आउन पाइन्छ
काठमाडौं,बैशाख २८ । सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् ।
अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये भारतसँग जोडिएका अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी रहेकोले ती जिल्लामा रहेका अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द थिए । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै ती सीमानाका खुला रहनेछन् ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने जनाएका छन्।
त्यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ। सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरुको नाम तल दिइएको छ ।
अनुमति दिइएका १३ नाकाहरुको नाम लिस्टसहित
१-पुलाघाट – दार्चुला
२-झुलाघाट – बैतडी
३-गड्डा चौकी – कञ्चनपुर
४- गौरीफन्टा – कैलाली
५-जमुनाह – बाँके
६-कृष्णनगर –कपिलवस्तु
७- बेलहिया – रुपन्देही
८- वीरगञ्ज – पर्सा
९- गौर – रौतहट
१०- भित्तामोड –धनुषा
११-जोगबनी – मोरङ
१२- काँकडभिट्टा – झापा
१३- पशुपति नगर – इलाम