कर्णाली प्रदेशमा फेरि मन्त्रिपरिषद हेरफेर गरिदै,दुई मन्त्रीले राजीनामा दिने,तीन मन्त्री थपिने
काठमाडौं,बैशाख २९। कर्णालीका प्रदेशकाे मन्त्रिपरिषद फेरि पनि हेरफेर हुने भएकाे छ। वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी रहेकाे छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् । उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतको भनाइ छ ।
त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको स्रोतको भनाइ छ । तर अहिलेसम्म उनीहरुले राजीनामा दिइसकेका छैनन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरिएको छ।