राष्ट्रपतिले दिएको समयसीमा सकियो,बहुमतको सरकारका लागि दावी परेन,ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं,बैशाख ३०। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नयाँ सरकार गठनका लागि दलहरुको दिएको समय सकिएको छ । अहिले ९ बजे राष्ट्रपतिको दिएको समयसीमा सकिएको हो ।

 

राष्ट्रपतिले दिएको समय सीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले आफूलाई बहुमत सदस्यको समर्थन रहेको दाबी राष्ट्रपति समक्ष गर्न सकेनन् । विपक्षी दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रले अन्तिम घडीसम्म बहुमत जुटाउन गरेको प्रयास सफल हुन सकेनन् ।

 

विपक्षी दलहरू प्रधानमन्त्रीको दाबी गर्न असफल भएपछि अब संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले एमाले अध्यक्ष एवं काम चलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

 

राष्ट्रपति भण्डारीले बिहीबार रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ठूलो दलको हैसियतमा अल्पमतको सरकार गठन गर्ने प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।

 

प्रधानमन्त्री ओली यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले वैशाख ३० गते रातिसम्मको समय दिँदै बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । अबकाे केही बेरमा प्रधानमन्त्री ओलीलाइ नै नियुक्ति गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।