कोरोना रोकथाम र नियन्त्रणमा कमजोरी भएको सरकारद्वारा स्वीकार ,यो अवस्था आउला भने अनुमान थिएन
काठमाडौं,जेठ २ । सरकारले आप्नै कमजोरीका कारण कोरोना संक्रमण फैलिएको स्वीकार गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कम आँकेका कारण कमजोर तयारी हुँदा कोरोना संक्रमण नियन्त्रणमा समस्या परेको स्वीकार गर्नुभएको हो।
सीसीएमसीको बैठकपछि पत्रकारसित परराष्ट्रमन्त्री ज्ञवालीले यो अवस्था आउला भनेर अनुमान नै नगरेको स्वीकार गर्नुभयो । तर अब केही दिनमा संक्रमण घट्ने मन्त्री ज्ञवालीको दावी छ ।
चिकित्सक र आर्थिक मामिलाका जानकारसितको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संक्रमण यस्तो होला भनेर आफूले नसोचेको बताउँदै कमजोरी स्वीकार गर्नुभयो । अहिले भने समन्यव पनि प्रभावकारी पारिएको प्रधानमन्त्रीको दावी छ।
पोहोर साल कोराना संक्रमण फैलिँदा प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएको बताउने गर्नुभएको थियो । तर शनिवार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बुझाई विपरित कोरोना फैलिएको बताउनुभयो।
संक्रमण बढेपनि सरकारले स्वास्थ्य संकटकाल नलगाउने स्प्ष्ट पारेको छ । सीसीएमसीको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य संकटकाल लगाएर मात्रै समस्या समाधान नहुने बताउनुभयो।